काठमाडौँ । काठमाडौँ महानगरपालिका, वडा नं. ८ को महिला सञ्जालले वडावासीका लागि कानुन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । आज वडाको सभा कक्षमा आयोजना गरिएको कार्यक्रममा स्थानीय विवाद, विवाद समाधानका लागि कानुनी व्यवस्था र यसको प्रयोगको प्रक्रियाका विषयमा प्रस्तुतीकरण र अन्तरक्रियात्मक संवाद गरिएको थियो ।
अभिमुखीकरणमा बोल्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, परेको छैन भनेर कानुनी व्यवस्थाका विषयमा अन्जान बन्नु नहुने धारणा राखिन् । उनले भनिन्, ‘कानुनी ज्ञानले सम्भावित जोखिमबाट बचाउँछ । समस्या परे समाधानको बाटो थाहा हुन्छ । त्यसैले कानुन जानी राख्नुपर्छ । बुझी राख्नुपर्छ ।’
महानगरपालिकामा आउने विवादमध्येको बहाल कर सम्बन्धी विवादको उदाहरण दिँदै उनले भनिन्, ‘सरकारलाई थोरै कर बुझाउन वास्तविक वहाल रकममा घटाएर सम्झौता गरिएको हुन्छ । बहालमा बस्नेले धेरै रकम तिरेको हुन्छ । यसरी तिरिएको बढी रकम घरधनीले ऋण लिएको भराइ पाउँ भनेर वहालमा रहनेले दाबी गर्न थाल्नुभएको छ ।’ कानुनलाई छल्न खोज्दा आफैँ समस्या परिने अवस्था औँल्याउँदै उनले भनिन, ‘यस्ता सम्भावित समस्याबाट बच्न पनि कानुन जान्न जरुरी छ ।’
‘जनतालाई समस्या परेर आएपछि म कानुन जान्दिन भन्न पाइँदैन । सोधेर, खोजेर वा विज्ञको सहयोग लिएर पनि सेवा गर्नै पर्छ । यस कारण कानुनी ज्ञान जनप्रतिनिधिलाई पनि चाहिएको छ ।’ कार्यक्रममा वडाध्यक्ष आशामान संगतले स्थानीय स्तरका समस्या देखाउँदै भने, ‘कसैका बुबा हराएका छन् । कसैका आमा हराएका छन् भने कसैका छोराछोरी हराएका छन् । परिवारमा कलह छ । आपसमा मिलेर बस्न नसक्ने अवस्थामा छन् । लेनदेनको समस्या छ । छरछिमेकीका समस्या छन् । सहरमा अनेक प्रकृतिका समस्या छन् । ती हरेक समस्या समाधानका लागि छुट्टाछुट्टै कानुन छन् । यस कारण वडावासीलाई कानुनी साक्षरताको कार्यक्रम थालिएको हो ।’