>

ठमेलमा प्रहरी कुट्ने एमाले विद्यार्थी नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौंको ठमेलमा ड्युटीमा खटिएको प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डूमा पेस गरिएको थियो ।

काठमाण्डू प्रशासनले अभद्र व्यवहारको कसुरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन । जोशीको समूहले २४ माघको राति ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो ।

दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । मध्यराति होहल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरुलाई सम्झाउन खोजेको थियो । तर मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *