काठमाडौँ। अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी आशिका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १० हजार धरौटीमा रिहा भएकी छन् । उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन् ।
पशुपति क्षेत्र विकास कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन् । प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप रहेको छ । पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् ।
काठमाडौँस्थित प्रहरी वृत्त गौशालाले उनको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गर्दा आज उनी धरौटीमा रिहा भएकी हुन् । उनी छुटेपछि फेरि गौशाला प्रहरीले आफ्नो साथमै कार्यालय लगेको छ ।
भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइने छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ । काठमाडौँका प्रजिअ तिवारी भन्छन्, ‘भक्तपुरमा पनि मुद्दा रहेछ, धरौटी बुझाएपछि उता पठाउँछौँ ।’