पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूले लडनुपर्ने लडाईं धेरै बाँकी रहेको बताएका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि बिहीबार राति छोटो भिडियो सन्देश जारी गर्दै उनले समय आएपछि धेरै कुरा बोल्ने बताए ।
लामिछानेले न्यायालयप्रति विशेष आभार व्यक्त गरे । आफ्नो रिहाईसँगै न्यायालयप्रति विश्वास गर्ने धेरै ठाउँ प्राप्त गरेको लामिछानेको भनाइ थियो । लामिछानेले यसबीचमा आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिए ।
‘बोल्ने समय आएपछि नबोल भने पनि बोलौंला । धेरै लडाईं बाँकी नै छ । सबै जनालाई धन्यवाद छ । जसजसले माया गर्नुभयो सबैलाई धन्यवाद’, उनले भने, ‘न्यायालयप्रति म विशेष आभारी छु । र न्याय प्रणालीप्रति विश्वास गर्ने असाध्यै धेरै ठाउँ प्राप्त गरेकोमा धन्यवाद ।’
पोखराको सूर्यदर्शन सहकारी बचत अपचलन कसुरमा लामिछानेलाई प्रहरीले गत २ कात्तिकमा काठमाण्डुबाट पक्राउ गरी सोही रात पोखरा लगेको थियो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईका एकल इजलासले लामिछानेलाई बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बैंक ग्यारेण्टीमार्फत धरौटी बुझाएर कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने बिहीबार साँझ मुक्त भएका छन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन कसुरमा जिल्ला अदालत काठमाण्डुमा अर्को मुद्धा दर्ता भइसकेकाले उनी आज जिल्ला अदालत काठमाण्डुमा उपस्थित हुन लागेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डुले लामिछानेलाई रिहा भएपछि पक्राउ गरी बुझाउन कास्की प्रहरीलाई पत्राचार गरेको भए पनि लामिछाने आफैं उपस्थित हुने सर्तमा परिवार र पार्टी नेताहरुको जिम्मा लगाएर छाडिएको हो ।