काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आइतबार मात्र जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने भएका छन् ।
लामिछानेका सहयोगी दीपक बोहराले कास्कीमा आवश्यक कानूनी प्रक्रिया पुरा गरी उनी काठमाडौं जाने क्रममा रहेको र आइतबार मात्र अदालतमा उपस्थित हुने जानकारी दिएका छन् ।
‘रवि दाइका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौंतर्फ जाने क्रममा हुनुहुन्छ,’ बोहराले फेसबुकमा लेखेका छन्, ‘सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुहुनेछ ।’
पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलनको आरोपमा गत २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बिहीबारै धरौटी बराबरको बैंक ग्यारेण्टी बुझाएर लामिछाने हिरासत मुक्त भएका थिए ।
प्रहरीले लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन कसुरमा जिल्ला अदालतमा मुद्धा दायर गरिसकेको छ ।
बिहीबार रिहा भएलगत्तै पक्राउ गरेर काठमाडौं ल्याउने तयारी भए पनि पछि आफैं उपस्थित हुने गरी छाडिएको थियो ।