काठमाडौं । कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बिहीबार रिहा हुने छैनन् ।
कार्यालय समयपछि मात्र फैसला सार्वजनिक भएकाले उनी बिहीबार राति कास्की प्रहरीको हिरासतमै रहनेछन् । शुक्रबार बैंक ग्यारेण्टी वा धरौटी रकम बुझाएपछि मात्र उनी रिहा हुनेछन् ।
पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन आरोपमा गत २ कात्तिकमा काठमाण्डुबाट पक्राउ परेर थुनामा रहेका लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश निजित राईको एकल इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । यद्यपि पोखराबाट छुटेपछि उनलाई पक्राउ गरी काठमाण्डु ल्याउने तयारी छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुले बिहीबार अपराह्नतिरै लामिछाने रिहा भएमा पक्राउ गरी बुझाउन कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ । लामिछानेविरुद्ध काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको कसुरमा अर्को मुद्धा दर्ता भइसकेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले गत आइतबार काठमाण्डु जिल्ला अदालतमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।
३९ जनाबाट एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो माग दाबी गरिएको छ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वमा गठित संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछानेको विभिन्न सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउन भूमिका नरहे पनि खर्च गर्नमा भने संलग्न रहेको प्रतिवेदन बुझाएको थियो ।
उनलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा अनुसन्धान गर्न गत २ कात्तिकमा काठमाण्डुको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरेर सोही दिन पोखरा लगेको थियो ।