ढाका । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ ।
विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा निर्वासित जीवन बिताइरहेकी ७७ वर्षीया हसिनाविरुद्ध ढाकाले मानवताविरुद्धको अपराधको अभियोगमा यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ ।
उनको १५ वर्षे कार्यकालमा उनका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू भएको र व्यापक रूपमा मानव अधिकार उल्लङ्घन भएको आरोप लागेको छ ।
घरेलु अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का मुख्य अभियोजक ताजुल इस्लामले दोस्रो पक्राउ पुर्जी उनको शासनकालमा जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिहरूसँग सम्बन्धित रहेको बताएका छन् ।
बङ्गलादेशी सुरक्षाकर्मीले ५०० भन्दा बढी व्यक्तिलाई गैरकानूनी रूपमा नियन्त्रण गरेका थिए भने तीमध्ये केहीलाई वर्षौंदेखि गोप्य स्थानमा राखिएको थियो ।
पूर्वप्रधानमन्त्री हसिनाले सत्ता छोडेसँगै पीडितहरूले भोगेका कष्टदायी घटनाहरू सार्वजनिक गर्न थालेका छन्।