काठमाडौं । सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश जारी गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाण्डु र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा सोमबार यस्तो आदेश गरेको हो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापाको हकमा उच्च अदालतबाट भएको आदेश झिकाउने आदेश भएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनले थापा गृहमन्त्री हुँदा बिचौलियाको कार्य गरेको भनी जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर हुनुअघि नै उनी फरार भएका थिए । फरार नै देखाएर मुद्दा दायर गरेपछि उनी २०८१ असार १४ गते पक्राउ परेका थिए । लगत्तै उनलाई जिल्ला अदालत उपस्थित गराइएको थियो ।
जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । उनी त्यसपछि उच्च हुँदै २०८१ पुस २१ गते सर्वोच्च पुगेका थिए । उनले आफू धरौटीमा रिहा हुनुपर्ने माग गरेका छन् । जिल्ला अदालत काठमाण्डुकोले २ भदौमा उनलाई थुनामा पठाएको थियो भने पुस १ गते उच्च अदालत पाटनले उक्त आदेश सदर गरेको थियो ।
बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्व सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो ।
कार्यदलको प्रतिवेदनमै नक्कली नामहरू घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले बिचौलियाको भूमिका निभाएको अनुसन्धानबाट खुलेको थियो ।