धनगढी । धनगढी विमानस्थलमा सरकार नेतृत्कवर्ता एमालेविरुद्ध नाराबाजी भएको छ । एमालेबाट निष्काशित पूर्वउपप्रधानमन्त्री डा. भीम रावलको स्वागतका लागि शुक्रबार बिहान विमानस्थलमा आएका उनका समर्थकले एमालेविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरुले एमाले मूर्दावाद, खड्ग ओली मूर्दावादजस्ता नारा लगाएका थिए । भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन ११ रोपनी जग्गा दान लिएको विरोध गरेपछि एमालेले पूर्वउपाध्यक्ष रावललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । त्यसयता उनले ‘मातृ भूमि जागरण अभियान’ चलाइरहेका छन् ।
सोही अभियानअन्गतर्गत रावल गृहजिल्ला अछामको रामारोशन जाँदै थिए । संयोगबस रावल र एमाले स्थायी समिति सदस्य कर्ण थापाले जहाजमा सँगै धनगढीसम्मको यात्रा गरेका थिए ।
एमालेमा रहँदा चिरपरिचित प्रतिद्वन्द्वी रावल र थापाबीच पछिल्लो समय सुमधुर सम्बन्ध छ । अध्यक्ष केपी ओलीले माओवादीबाट एमालेमा गएका लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएपछि रावल र थापाबीच दूरी घटेको हो ।
रावललाई निष्काशन गर्ने पार्टी निर्णयको थापाले विरोध गरेका छन् । उनी पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट छन् ।
भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन लाग्नेमध्ये एक थापा पनि हुन् । सोही कारण उनको अध्यक्ष ओलीसँग सम्बन्ध चिसिएको छ । ओली प्रधानमन्त्री भएपछि उनले एकपटक पनि भेटेका छैनन् ।