काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् । बिहीबार बिहान निजी निवास बूढानीलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन्।
सरकारका एक मन्त्रीले सरकारको अवस्था चित्रित हुने गरी निराशा व्यक्त गरेका थिए । छलफलमा कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीले जनअपेक्षाअनुसार काम गर्न कठिन रहेको दृष्टान्त सुनाए ।
उनले किसानको मागअनुसार रासायनिक मल खरिदका लागि सरकारसँग पर्याप्त बजेट नभएको यथार्थ बताए । आगामी वर्षका लागि ११ टन रासायनिक मल जरुरी भए पनि त्यसको ५० प्रतिशत अर्थात साढे ५ टन मल मात्र यायात गर्ने रकम सरकारको ढुकुटीमा रहेको मन्त्री अधिकारीले जानकारी दिए ।
मल आयातका लागि ६० अर्ब रुपैयाँ आवश्यक रहेको तर, उक्त शीर्षकमा २७ अर्ब मात्र बजेट रहेको उनको भनाइ थियो । अधिकारीले दूग्ध किसानलाई अझै ४ महिनाको बक्यौता तिर्न बाँकी रहेको पनि उल्लेख गरे ।
‘हिउँदे बाली लगाउने बेलामा मलको अभाव छ । अर्को वर्षका लागि २७ अर्ब पैसाले आधा किसानका लागि पनि मल किन्न नपुग्ने अवस्था छ भन्ने कुरा गम्भीरताका साथ सभापतिसँग राखें’, अधिकारीले भने, ‘भनेजस्तो काम गर्न सकिलो छैन । दूध किसानको ४ महिनाको बक्यौता तिर्न बाँकी नै छ ।’
हालसम्म ३ जना मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । उनले मन्त्रालयले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको उल्लेख गरे ।
छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले सुझाव दिएको बताए । उनले भने, ‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुको उपस्थिति छ ।