काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंमा प्रसाईंसहित झापाका हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध बुधबार संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको हो ।
व्यवसायी र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई धम्की दिएको अभियोगपत्रमा उल्लेख छ । प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौं लगानी गरेको अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई गत महिना विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ गरेको थियो ।
तर, उनी अदालतको आदेशमा रिहा भए । प्रतिवादीमध्ये फुयाँल हाल थुनामै छन् भने मैनाली फरार छन् । उनीहरुले आफूलाई भारतीय डन ‘लरेन्स विश्नोई’ समूहको मानिस भन्दै व्यवायीलाई दुर्गा प्रसाईंको विरोध नगर्न र विरोध गरेकामा माफी माग्न ह्वाट्स्एपमार्फत धम्कीपूर्ण म्यासेज पठाएका थिए ।
माफी नमागेको जे पनि हुन सक्ने धम्कीपूर्ण म्यासेज उनीहरुले पठाएका थिए । दुर्गा प्रसाईं हिन्दूत्वका लागि लडिरहेको र उनीमाथि तलमाथि भए एक–एक गरी हत्या गर्ने धम्की व्यवसायीलाई दिइएको थियो । पक्राउ परेका फुयाँलले प्रसाईं र राकेश मैनालीको योजनामा आफूले व्यवसायीलाई धम्कीपूर्ण म्यासेज पठाएको बयान प्रहरीमा दिएका छन् ।