काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सामाजिक सञ्जालमा गलत सूचनाहरू बढी आएर वास्तविक सूचना ओझेलमा परेको जनाएका छन् ।
सञ्जालमा आएको मिथ्या कुराहरूले स्थापित दलहरूप्रति अनावश्यक आरोपहरू लाग्दै गएको उनले बताएका छन् । काँग्रेस रुपन्देही २ नम्बर क्षेत्रीय समितिले बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महतले सामाजिक सञ्जालमा मिथ्या कुराहरू आउने क्रम बढेकोले त्यसको नियमन जरुरी रहेको उल्लेख गरेका हुन् ।
युवाहरूले सामाजिक सञ्जालमा धेरै विश्वास गर्ने र सामाजिक सञ्जालले सत्यलाई झुट र झुटलाई सत्य जस्तो भ्रममा पार्ने उनको भनाई थियो । महतले सामाजिक सञ्जालले समाजमा नकारात्मक सोच हाबी भएको भन्दै त्यसलाई उल्टाएर सकारात्मक सोचको विकास गर्नुपर्ने धारणा राखे।
उनले अहिले मुलुकको लागि काँग्रेसबाहेक अरूको विकल्प नभएको उल्लेख गर्दै काँग्रेस छोडेर जानुपर्ने कुनै कारण नभएको जिकिर गरे । संगठनमा जहाँ समस्यामा छ, त्यहाँ केन्द्रित भएर समाधान खोज्नुपर्ने उनको भनाई थियो।
पूर्व मन्त्रीसमेत रहेका महतले समानुपातिक निर्वाचन प्रणाली रहिरहँदासम्म सत्ताका लागि गठबन्धन गरिनै रहनुपर्ने बताउँदै यो निर्वाचन प्रणाली नबदल्दासम्म कुनै पनि दलले एकल बहुमत ल्याउन नसक्ने भएकाले त्यसलाई सुधार गर्न सकिन्छ कि भनेर नै संविधान संशोधनको सहमतिसहित काँग्रेस एमालेको सरकार बनाइएको जनाए।
नेता महतले पार्टीले लिएका नीति कार्यक्रम कार्यान्वयन गर्नका लागि सत्तामा जानै पर्ने र सत्तामा जानका लागि अरु दलहरूसँग गठबन्धन गर्नै पर्ने बाध्यताका कारण निर्वाचन प्रणाली नबदल्दासम्म गठबन्धन भई नै रहने तर्क गरेका थिए ।
२०७४ को निर्वाचनमा पार्टीको आफ्नै चुनाव चिन्ह लिएर लड्दा पनि पार्टीभित्रकै घात अन्तरघातले नराम्रो परिणाम भोग्नु परेको स्मरण गर्दै उनले त्यही नियति भोग्नु नपरोस् भन्नको लागि २०७९ को निर्वाचनमा अरु दलहरूसँग गठबन्धन गरिएको त्यसले परिणाम पनि राम्रै दिएको भनाई उनले राखे ।
उनले काँग्रेसमाथि जनताको अपेक्षा पनि रहेको र अपेक्षा अनुसारका काम भएन भनेर असन्तुष्टि पनि रहेको बताउँदै अबका दिनमा जनताका अपेक्षा पुरा गर्ने गरी काम गर्ने दायित्वबाट चुक्न नहुने बताएका थिए ।