काठमाडौं । काँग्रेस महामन्त्री एवं सरकार सञ्चलान गर्न गठित संयन्त्रका संयोजक गगनकुमार थापाले आफ्नो पार्टी उपसभापति धनराज गुरुङ तथा एमाले नेताद्वय सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल र मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लीलाबल्लब अधिकारीले सत्ता पक्षका नेता भएका कारण कानूनी कारबाहीबाट उन्मुक्ति पाएको स्वीकार गरेका छन् ।
उनले विपक्षमा भएकाहरुमाथि एकै प्रकारको कसुरमा कानुनी कारबाही भएको र सत्ता पक्षका नेताहरु कारबाहीको दायराबाहिर परेको भन्ने आममानिसमा परेको मनोविज्ञान सही भएको बताए । कांग्रेस र एमालेमा भएका कारण पोखरेल, गुरुङ र अधिकारीले अतिरिक्त लाभ पाएको र त्यो गलत भएको उनको भनाइ थियो ।
‘चाहे त्यो लेखा सभापति जोडिएको विषय होस्, चाहे मेरो पार्टीको उपसभापति जोडिएको विषय होस् । चाहे त्यो केही सांसद जोडिएको विषय होस् । यी विषयका सन्दर्भमा जुन तरिकाले व्यवहारहरू हुनुपर्थ्यो, अतिरिक्त लाभ कांग्रेस, एमाले भएका कारणले पाउनुभयो भन्ने छ’, अनलाइनखबर डटकमलाई दिएको अन्तर्वार्तामा थापाले भनेका छन्, ‘चाहे त्यो लीलाबल्लभ अधिकारीको हकमा होस् । उहाँहरूले अतिरिक्त लाभ पाउनुभएको छ । त्यो गलत हो, अतिरिक्त लाभ पाउनुहुन्न ।’
थापाले गल्ती गर्नेलाई सरकारले समान व्यवहार गर्नुपर्ने उल्लेख गरे । सत्तापक्ष भएकै कारण उन्मुक्ति पाउनुपर्ने र सत्ता पक्षकालाई कारबाही नभएकाले आफ्नो पार्टीकालाई पनि हुनुहुँदैन भन्नु दुवै गलत भएको तर्क उनको छ ।
‘मेरो पार्टीभित्र ठग, भ्रष्टाचारी वा गलत काम गर्ने कोही छ, तिम्रो पार्टीभित्र पनि छन् भन्ने धारणा देखियो । तिम्रो पार्टीभित्रको मानिसहरूलाई दण्ड–सजाय दिइएको छैन, मेरो पार्टीकोलाई पनि दिन पाइँदैन भन्ने एउटा खालको आइडिया छ । अर्को के रह्यो भने आफ्नालाई जोगाउनुपर्दछ, अर्कोले दण्ड बेहोर्नु पर्दछ’, उनले भने ।
कानूनले भनेको दण्डनीय काम गरेको भए आफ्नै बा र पार्टी सभापति भए पनि दण्ड पाउनुपर्छ भन्नेमा आफ्नो पहिलेदेखिकै धारणा रहेको थापाले बताएका छन् । आफूले प्रधानमन्त्री केपी ओली, पार्टी सभापति शेरबहादु देउवा र सरकार सञ्चालनका लागि गठित कार्यदलमा त्यसबारे बोल्ने गरेको दाबी थापाले गरे ।
‘जुनजुन ठाउँहरूमा म छु त्यहाँ भनिरहेको छु । बाहिर पनि भनिरहेको छु । अतिरिक्त लाभ पाएको मलाई लागिरहेको छ । म गलत पनि हुनसक्छु, तर मलाई लागिरहेको छ’, उनले भने, पूरै सरकार संगठित रूपमा यो यो केसमा लागेर गर्छु भनेर गर्यो भनेर थाहा नभई निष्कर्षमा पुग्न चाहिं चाहन्नँ । बाहिरबाट हेर्दै गर्दा अतिरिक्त लाभ पाइरहेको देखिन्छ । कहीं न कहीं छुट सुविधा पाइरहेको देखिन्छ । जुन कुरा ठ्याक्कै बन्द हुनुपर्दछ ।’
आफ्नो पार्टीभित्रका ठग, भ्रष्टाचारी वा गलत काम गर्नेमाथि कारबाही हुँदा तिम्रो पार्टीभित्र पनि छन् भन्ने र तिम्रो पार्टीभित्रको मानिसहरूलाई दण्ड–सजाय दिइएको छैन, मेरो पार्टीको लाई पनि दिन पाइँदैन भन्ने आइडिया देखिएको उनले औंल्याए । आफ्नालाई जोगाउनुपर्छ र अर्कोले दण्ड बेहोर्नुपर्छ भन्नेमा आफू पहिल्यैदेखि नरहेको दाबी पनि थापाले गरे ।
सहकारी ठगी र मानव तस्करी प्रकरणमा मुछिएका काँग्रेस–एमाले नेतामाथि प्रहरी र सरकारी वकिलले किन मुद्धा चलाएन भन्नेमा उनले प्रश्न गरेका छन् ।
‘चाहे त्यो सहकारी ठगी प्रकरण होस्, चाहे त्यो मानव बेचबिखनको केसमा होस् । कहीं प्रहरीले अनुसन्धान गरेको छ । सरकारी वकिलले मुद्दा नचलाइदिएको छ । के आधारमा सरकारी वकिलले मुद्दा नचलाउने भनेको हो ? लीलाबल्लभ अधिकारीको सन्दर्भमा के आधारमा मुद्दा नचलाउने भनेको हो ? कम्तीमा अदालत त जानुपथ्र्यो होला । अदालतले रिट अघि नबढाएपछि अहिले बोल्ने बाटो बन्द भयो । यो कुरा मनमा छ र भन्नुपर्ने ठाउँमा भनिरहेको छु । यस्तो सन्दर्भमा राज्य फेयर देखियो भने अनि बल्ल कामहरू गर्न सजिलो हुन्छ’, थापा भन्छन् ।