काठमाडौं । क्यानडामा एक नेपाली युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । क्यानडाको ओन्टारियोमा गत २४ डिसेम्बरमा नेपाली छात्रामाथि सामूहिक बलात्कार भएको हो । साथीले घरमा बोलाएपछि गएकी उनीमाथि सामूहिक बलात्कार भएको थियो ।
बलात्कारअघि उनका साथीले लठ्याउने औषधि खुवाएका थिए । युवतीको सामूहिक बलात्कारका कारण अत्याधिक रक्तश्राव भएको र उपचार जारी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाकी महासचिव चन्दा अधिकारीले जानकारी दिइन् ।
यसैबीच प्रहरीले बलात्कारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । तीनमध्ये दुई जना जमानतमा रिहा भए पनि एक जना थुनामै छन् । महासचिव अधिकारीले पीडितलाई आफूहरुकै संरक्षणमा राखिएको बताइन् ।
उनका अनुसार पीडक युवकका परिवारले नेपालबाट जाहेरी फिर्ता लिन पीडितमाथि दबाब दिइरहेका छन् ।