काठमाडौं । एमालेका निष्काशित नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीमाथि प्रश्न गरेको आरोपमा कोशी प्रदेशका पूर्वसांसद विमल कार्कीमाथिको कारबाहीप्रति निन्दा गरेका छन् ।
रावलले सामाजिक सञ्जालमार्फत उक्त प्रकरणलाई केपी ओली गुटको तानाशाही चरित्रको अर्को परिणाम भएको उल्लेख गरेका छन् ।
‘कोशी प्रदेश सभाका पूर्वसदस्य तथा उदयपुरका नेता विमल कार्कीमाथिको कारबाही केपी गुटको निरंकुश, स्वेच्छाचारी र तानाशाही चरित्रको अर्को निन्दनीय परिणाम हो’, रावलले लेखेका छन् ।
एमालेले पूर्वउपाध्यक्ष रावल, स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टी कार्यालय बनाउन विवादित व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा दान लिएको विरोध गर्दा कारबाही भएकामा कार्कीले विमती जनाएका थिए ।
यस्तै उनले ०४८ र ०५१ मा खड्गप्रसाद ओलीका नाममा निर्वाचन लडेका र तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री हुँदा पनि सोही नाम रहेको भन्दै हाल कसरी केपी शर्मा ओली हुन गए भन्दै ओलीको नागरिकतामाथि प्रश्न गरेका थिए ।
कार्कीलाई सोही विषयमा एमाले कोशी प्रदेशले ६ महिनाका लागि पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको छ ।