काठमाडौं । नेपाली कांग्रेसले बर्तामान सत्ता गठबन्धनलाई थप कसिलो बनाएर लैजाने निश्कर्ष निकालेको छ । आज बसेको संसदीय दलको बैठकले नेकपा एमालेसँगको गठबन्धनलाई थप कसिलो बनाएर २०८४ सम्मै लैजाने निष्कर्ष निकालेको हो ।
आजको दलको बैठकमा भएको छलफलबारे जानकारी दिँदै सांसद रामहरि खतिवडाले यो सरकार बनेपछि उत्साहजनक अवस्था सिर्जना भएको साथै अर्थतन्त्रमा सुधार आएको नेताहरूले ब्रिफिङ गरेको बताएका छन् ।
‘अहिले ३-३ महिनामा विश्वासको मत लिने कुराको अन्त्य भएको छ । ८४ सम्म यही सरकार निरन्तर लैजाने कुरामा छलफल भएको छ’, खतिवडाले भने ।
विपक्षी दलले गरिरहेको अध्यादेशको विरोधका सम्बन्धमा खतिवडाले सरकारले आवश्यक र औचित्यको आधारमा अध्यादेश ल्याउने प्रष्टिकरण दिए ।
‘प्रचण्ड प्रधानमन्त्री हुँदा पनि सदन अन्त्यलगत्तै ल्याएका हुन् । हामीले लगानीसम्बन्धी अध्यादेश पारित गर्यौँ त । यो आवश्यकता र औचित्यको आधारमा ल्याउने विषय हो’, उनले थपे ।
आगामी सदनमा काँग्रेस एक भएर जनताको मुद्दा उठाउने खतिवडाले बताए । दलको बैठक भोलि पनि बस्नेछ । सांसदहरूले बोलिसकेपछि मन्त्रीहरूले मन्त्रालयगत कामका ब्रिफिङ गर्ने छन् ।